१४ पुष २०८१, आईतवार

यी हुन् विश्वकप क्रिकेटमा सर्वाधिक विकेट लिने बलरहरू


सिन्धुली । विश्वकप क्रिकेटको १३औं संस्करण भारतमा सुरु भएको छ । क्रिकेटको महाकुम्भ मानिने विश्वकप क्रिकेट यो पटक भारतको दशवटा रंगशालामा खेलाइनेछ । विश्वकप क्रिकेटमा विभिन्न देशका विभिन्न बलरहरुले धेरै रेकर्ड बनाएका छन् । धेरै रेकर्डहरु मध्ये सर्वाधिक विकेट लिएर रेकर्ड बनाउने पाँच बलरहरू यी हुन्:-

१. ग्लेन म्याग्रा

अष्ट्रेलियाका चर्चित तीब्र गतिका बलर ग्लेन म्याग्राले सन् १९९६ देखि २००७ सम्म गरि आफ्नो राष्ट्रको लागि चारवटा विश्वकप खेलेका थिए । विश्वकप क्रिकेट इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलर म्याग्रा नै हुन् । अष्ट्रेलियाका लागि विश्वकपमा ३९ खेल खेलेका म्याग्राले ७१ विकेट लिएका छन् । आफ्नो विश्वकपको करिअरमा ३२५.५ ओभर बलिङ्ग गरेका म्याग्राले ४२ मेडन ओभर गर्दा १२९२ रन मात्र खर्चिएका थिए । विश्वकप क्रिकेटमा उनले दुई पटक पाँच विकेट लिएका थिए । उनी सन् २००७ को विश्वकप क्रिकेटमा म्यान अफ दी सीरिज समेत भएका थिए ।

२. मुथैया मुरलिधरन

श्रीलंकाका चर्चित स्पिनर मुथैया मुरलिधरन क्रिकेट इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलर हुन् । विश्वकप क्रिकेटमा पनि उनको प्रदर्शन राम्रो छ । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका ग्लेन म्याग्रापछि सर्वाधिक विकेट लिने बलर हुन् मुरलिधरन । उनले सन् १९९६ देखि २०११ सम्म गरि आफ्नो राष्ट्रको लागि पाँचवटा विश्वकप खेलेका थिए । विश्वकपमा ४० म्याच खेलेका मुरलिधरनले ३९ वटा इनिङ्गमा बलिङ्ग गरेका थिए । ३४३.३ ओभर बलिङ्ग गरेका मुरलिले विश्वकपमा ६८ विकेट लिएका छन् । १५ वटा मेडन ओभर गरेका उनले जम्मा १३३५ रन मात्र खर्चेका थिए । चार पटकसम्म ४ विकेट लिएका मुरलिधरनले एक पटक पनि पाँच विकेट भने हात पारेका थिएनन् ।

३. लसिथ मलिङ्गा

श्रीलंकाका तीब्र गतिका बलर लसिथ मलिङ्गा क्रिकेटमा विशेष गरि ‘डेथ ओभर स्पेसलिस्ट’ भनेर चिनिन्छन । खेलको अन्तिम अन्तिम तिर नतिजा उल्ट्याएर आफ्नो पक्षमा ल्याउन माहिर मलिङ्गा विश्वकप क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने बलरहरुको सूचिमा तेस्रो स्थानमा छन् । सन् २००७ देखि २०१९ सम्म विश्वकप क्रिकेट खेलेका मलिङ्गाले आफ्नो राष्ट्रको लागि २९ म्याच खेल्दै २८ इनिङ्गमा बलिङ्ग गरेका थिए । विश्वकपमा २३२.२ ओभर बलिङ्ग गरेका उनले ११ मेडन ओभर सहित १२३१ रन खर्चदैँ ५६ विकेट लिएका थिए । विश्वकपमा उनले दुई पटक ४ विकेट र एक पटक पाँच विकेट हात पारेका थिए ।

४. वासिम अक्रम

पाकिस्तानका तीब्र गतिका बलर वासिम अक्रम ओडीआईक्रिकेटमा ५०० विकेट लिने पहिलो बलर हुन् । विश्वकप क्रिकेटमा पनि उनको प्रदर्शन राम्रो छ । सन् १९८७ देखि २००३ सम्म पाकिस्तानबाट विश्वकप क्रिकेट खेलेका अक्रमले ३८ म्याच खेलेका थिए । कुल ३२४.३ ओभर बलिङ्ग गरेका उनले १६ मेडन सहित १३११ रन खर्चेर ५५ विकेट लिएका थिए । विश्वकपमा उनले दुई पटक ४ विकेट र एक पटक पाँच विकेट लिएका थिए ।

५. मिचेल स्टार्क

अष्ट्रेलियाका दायाँ हाते तीब्र गतिका बलर मिचेल स्टार्क विश्व क्रिकेटमा ब्याट्सम्यानका लागि एक खतर्नाक बलर हुन् । विश्वकप क्रिकेटमा उनले आफूलाई झन् खतरनाक सावित गरेका छन् । सन् २०१५ बाट विश्वकप क्रिकेट खेल्न सुरु गरेका स्टार्क विश्वकपमा सर्वाधिक विकेट लिने बलरहरुको सूचिमा पाचौं स्थानमा छन् । विश्वकप क्रिकेटमा जम्मा १८ म्याच मात्र खेलेका स्टार्कले १५६.१ ओभर बलिङ्ग गर्दै ८ मेडन सहित ७२६ रन खर्चेर ४९ विकेट लिएका छन् । उनले विश्वकपमा तीन पटक ४ विकेट र तीन पटक पाँच विकेट हात पारेका छन् । सन् २०१५ को विश्वकपमा उनी म्यान अफ दी सिरीज पनि घोषित भएका थिए । स्टार्क यो पटक भारतमा हुने विश्वकपमा पनि अष्ट्रेलियाको टोलीमा छन् ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?