८ पुष २०८१, सोमबार

विश्वविद्यालयमा पूरानो तरिका होइन, नवीनतम् प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)


काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वविद्यालयहरू पूरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम् लाभ लिनुपर्ने बनाउनुभयो।

शुक्रबार दिउँसो नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वमा विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताउनुभएको हो।

सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्छ। यतिखेर विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्छ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

नेपाल संस्कृत विश्वविद्यालयको कुलपतिका हैसियतले नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्न पाउँदा म अत्यन्त हर्षित छु। यस अवसरमा म नेपाल संस्कृत विश्वविद्यालयको स्थापना, यसको विकास र अग्रगतिका लागि अनवरत प्रयत्न गर्नुहुने संस्कृतप्रेमी सबै महानुभावहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु।

आज सम्पन्न विश्वविद्यालय सभाको ७५ औँ बैठकमा हामीले नेपाल संस्कृत विश्वविद्यालयको संस्थागत विकास, यसका नीति एवम् कार्यक्रमका साथै समस्या र सम्भावनाका विषयमा समेत गम्भीर छलफल गर्यौँ साथै महत्त्वपूर्ण निर्णयहरू पनि गर्यौँ। विश्वविद्यालयले उपलब्ध साधनस्रोतको यथोचित परिचालन गरेर आफ्ना शैक्षिक, प्राज्ञिक एवम् भौतिक उन्नयनका क्रियाकलापहरूलाई सन्तोषजनक रूपमै अगाडि बढाइरहेको कुरा यसको वार्षिक प्रतिवेदन र आर्थिक विवरणबाट अवगत हुन्छ। यसका लागि नेपाल संस्कृत विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरूलाई धन्यवाद दिनै पर्छ।

कुनै पनि राष्ट्रको सभ्यता, समृद्धि र उन्नति शिक्षाकै जगमा खडा भएको हुन्छ। तसर्थ शैक्षिक क्षेत्रको सुधार र गुणस्तरमा वृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य प्राथमिकताको विषय हो। त्यसमा पनि विश्वविद्यालयजस्ता उच्च शैक्षिक संस्थाले राष्ट्रको इतिहास, मूल्यमान्यता र सांस्कृतिक संवेदनाको मूलचेतनाको नेतृत्व गर्ने हुँदा विश्वविद्यालयको पाठ्यक्रम एवम् यसको पठनपाठनको स्तरलाई उच्च तुल्याउन सघाउनु सरकारको दायित्व र कर्तव्य पनि हो। यसै कुरालाई आत्मसात् गरेर सरकारले आफ्नो नीति तथा कार्यक्रममा उच्च शिक्षामा विद्यार्थी भर्ना र पहुँच अभिवृद्धिका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नका लागि पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने नीति लिएको छ। यसैगरी वैदिक पौराणिक ग्रन्थहरूमा उल्लेख भएका धार्मिक, सांस्कृतिक क्षेत्रहरूको संरक्षण, विकास र प्रवर्धन गर्ने नीतिका साथै आधुनिक प्रविधिको प्रयोग गरी राष्ट्रिय महत्त्वका अभिलेखको संरक्षण र व्यवस्थापन गर्ने कुरालाई पनि सरकारले महत्त्व दिएको छ, जुन नेपाल संस्कृत विश्वविद्यालयको कार्यक्षेत्र र सरोकारसँग सम्बन्धित छ। त्यसैगरी सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थित विकास गर्ने सरकारको योजनामा पनि नेपाल संस्कृत विश्वविद्यालयले सहयोग र सहकार्य गर्न सक्छ।

सरकार नेपालमा सञ्चालित विश्वविद्यालयहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन चाहन्छ। विश्वविद्यालयहरूको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई पनि नेपाल सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको छ। विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकार प्रतिबद्ध छ।

वर्तमान अवधि गुणस्तरका लागि प्रतिस्पर्धाको समय हो। आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसरहरू स्वतः प्राप्त हुँदै जान्छन्। यो सत्यलाई हृदयङ्गम गरेर हरेक संस्थाले आफ्नो क्षमता र स्तरवृद्धि गर्ने कुरामा ध्यान दिनु आवश्यक छ। समयले हामीसँग यही कुराको अपेक्षा गरिरहेको छ। तसर्थ नेपाल संस्कृत विश्वविद्यालयलगायत नेपालका सबै विश्वविद्यालयले समयको यो चुनौती र अवसरलाई स्वीकार गर्नुपर्छ साथै यसै मान्यतामा आधारित रहेर आफ्ना नीति तथा कार्यक्रमहरू तय गर्नुपर्छ।

अचल सम्पत्तिका दृष्टिले अत्यन्त समृद्ध नेपालका केही संस्थामध्ये नेपाल संस्कृत विश्वविद्यालय पनि एक हो। तर बितेका केही वर्षयता उक्त सम्पत्तिलाई विश्वविद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न सकिएको छैन। तसर्थ चल–अचल सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्दै त्यसको अधिकतम परिचालन गरी विश्वविद्यालय आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयत्न गर्नुपर्दछ। नेपाल संस्कृत विश्वविद्यालयका नाममा दाङ जिल्लाको देउखुरी उपत्यका र दाङ उपत्यकामा रहेको क्रमशः १३३६ बिघा र ३२६ बिघा जमिनको स्वामित्व र संरक्षणसँग सम्बन्धित समस्याहरू समाधान गर्नका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्नेबारेमा यसअघि भएका निर्णयहरूलाई कार्यरूप दिन निर्देशन दिन्छु। यस कार्यमा सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त हुनेछ।

नेपाल संस्कृत विश्वविद्यालय पौरस्त्य मूल्य मान्यताको जगमा खडा भएको विशिष्टीकृत एवम् नेपाली संस्कृतिको उत्तराधिकारसम्पन्न संस्था हो। नेपालको हिन्दू, बौद्ध र जनजातीय संस्कृतिमा संस्कृतको गहिरो प्रभाव छ। नेपालको सांस्कृतिक पहिचान र राष्ट्रियमूल्य संस्कृतभाषा एवम् यसको वाङ्मयमै आधारित छ। तसर्थ संस्कृत विश्वविद्यालयले विविधताको सम्मानसहित नेपाली समाजको बौद्धिक नेतृत्व गर्दै भावी पुस्तालाई आफ्नो मूल्य र पहिचानप्रति जागरुक तुल्याउन सक्नु पर्दछ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?