८ पुष २०८१, सोमबार

सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ उडाउने योजनामा सरकार !


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताउनुभएको छ । अन्तक्रिया कार्यक्रममा बोल्दै पर्यटनमन्त्री किरातीले सरकारले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले पर्यटन प्रबद्र्धन गर्नुपर्छ भन्छौं तर, यसका लागि कस्तो नीति बनाएका छौं भन्ने कुरातिर ध्यान दिन सकेका छैनौं । त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि हामीले विभिन्न योजनाहरु बनाइरहेका छौं । जस अन्तर्गत सगरमाथाको ८ हजार मिटर माथिको उचाईबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ । अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागु हुन्छ ।”

उहाँले नेपालको ऐन कानुन र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरुले चुनौती सिर्जना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार जादुको छडी त होइन, तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्छ । लयबद्धरुपमा काम गर्दै जाने हो, उसमा सोंच र सही दृष्टिकोण छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।”
नेपालले पर्यटनको मुख्य आधार यातायात भएकोले नेपाल सरकारले जहाज किन्ने निर्णय गर्न लागेको पनि जानकारी गरायउनुभएको छ। उहाँले भन्नुभयो, “हामी जहाज किन्ने निर्णय गर्दैछौं । सस्तोदरमा मानिसले आवतजावत गर्न सकेको अवस्थामा पनि हाम्रो पर्यटनमा ठूलो योगदान गर्नेछ ।”

सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको पर्यटनमन्त्री किरातीले बताउनुभयो । उहाँले अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थििति भने नभएको बताउनुभएको छ ।नयाँ लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न सरकारले काम गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “नेपालका मौलिक कुरालाई ब्रान्डिङ गर्नुपर्नेछ । विश्वविद्यालय बनाउन सक्यौं भने दक्ष जनशक्ति उत्पादन गर्न सक्छौं । यी कामहरुमा सरकारले ध्यान दिइरहेको छ ।”

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले सुन्दर मुलुकलाई पर्यटन प्रबद्र्धकको रुपमा लिन सक्यौं भने नेपालले ठूलो योेगदान गर्न सकिने बताएका छन् । नेपाली कांग्रेसका सांसदसमेत रहेका राज्य व्यवस्था समितिका सभापति खतिवडाले पर्यटनमन्त्रीलाई नेपालको पर्यटन विकासमा महत्वपूर्ण काम गर्नका केन्द्रित हुन सकुन भन्ने शुभकामना दिनुभएको छ । उहाँले भन्नुभयो “हामीले जहाज ल्याउन सकेका छैनौं । तपाई चीनबाट र भारतबाट मात्रै पर्यटक ल्याउन सक्यौं भने पनि हामीले पर्यटन विकासलाई सार्थक बनाउन सक्छौं । तपाईलाई शुभकामना ।”

विश्व पर्यटन दिवसको अवसरमा आयोजित राष्ट्रिय पर्यटन सम्मेलनका क्रममा स्वागत मन्तव्य व्यक्त गर्दैै आयोजक संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताउनुभयो ।उहाँले भन्नुभयो, “एकातिर पर्यटन क्षेत्रमा निकै पूर्वाधार निर्माण गर्नुछ भने अर्काेतिर भएका पूर्वाधार जोगाउने चुनौती छ अनि अबका पूर्वाधार जलवायु परिवर्तनमैत्री बनाउनु छ ।”

पर्यटन क्षेत्रको दीर्घकालिन विकासका लागि हामीले व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमा नयाँ संस्कार र परिपाटीको शुरुवात गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समग्र पर्यटनको योजना र रणनीति बनाउँदा हामीले आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो । यसका लागि हामीले व्यक्तिगत तहदेखि राष्ट्रिय रुपमा नै एउटा संस्कारको विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?