११ पुष २०८१, बिहीबार

कसरी गर्ने आफ्नो मुटुको हेरचाह ? यस्ता छन् विश्व स्वास्थ्य संगठनका ६ सुझाव


१९ भदाै, एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार मुटु सम्बन्धि रोग विश्वमा मानिसको मृत्यु हुने सबैभन्दा प्रमुख कारण हो । मुटु सम्बन्धि रोग हुने प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

पछिल्लो तथ्यांक अनुसार फिलिपिन्समा मात्रै वर्षेनी ५० हजार मानिसको मुटु रोगकै कारण मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार र मोटोपना, शारीरिक निष्क्रियता र रक्सीको प्रयोग, उच्च रक्तचाप, मधुमेह र उच्च स्तरको कोलेस्ट्रोल लगायतले मुटु रोगको जोखिम बढाइरहेको छ ।

पछिल्लो समय नेपालमा पनि मुटु रोगका कारण मृत्यु हुनेको संख्या बढीरहेको छ । यस्तो  अवस्थामा कसरी मुटुको हेरचाह गर्ने र यसबारे हुने मानवीय क्षति कम गर्ने ? विश्व स्वास्थ्य संगठनले केही सुझावहरू दिएको छ । हेराैँ ती सुझावहरू :

१. मुटु स्वस्थ राख्ने खानेकुराहरू खाने 

हृदय-स्वस्थ आहार भनेको धेरै फलफूल, सागसब्जी, अन्न, सिमी र नटहरू खानु हो । ह्याम, बेकन, सजेज, र सुकेको (ड्राइ) माछा जस्ता खानेकुराहरू छोड्नु मुटुका लागि राम्रो हुने संगठनको सुझाव छ । सोया सस जस्ता नुन ससको सट्टा क्यालामन्सीको जुस र भिनेगर प्रयोग गर्न पनि सुझाइएको छ । पर्याप्त मात्रामा पानी पिउने र जुसहरू सेवन गर्नु पनि मुटुको हेरचाहका लागि फाइदाजनक हुन्छ ।

२. ताैल सन्तुलित गर्नुहोस् 

उमेरको अनुपातमा चाहिने भन्दा बढि ताैल हुँदा अवश्य नै शरीरमा बोसोको मात्रा बढ्छ । यसका कारण मुटु अस्वस्थताको जोखिम रहने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

ताैल बढी भएको अवस्थामा घटाउनका लागि दैनिक ५०० कम क्यालोरी खाने प्रयास गर्न सुझाव दिइएको छ । दैनिक ५०० कम क्यालोरी खाँदा  प्रत्येक हप्ता लगभग आधा देखि एक किलोग्रामसम्म ताैल घटाउन सकिने जानकारी दिइएको छ ।

३. प्रति हप्ता कम्तिमा २.५ घण्टा नियमित शारीरिक गतिविधि गर्नुहोस्

व्यायाम लगायत अन्य शारीरिक गतिविधि स्वास्थ्यका लागि अत्यावश्यक छन् । यसका लागि एक हप्तामा कम्तीमा पनि साँढे २ घण्टाका दरले नियमित शारीरिक गतिविधि गर्नुपर्ने स्वास्थ्य संगठनले भनेको छ ।

शारीरिक गतिविधिले रक्तचाप सुधार, कोलेस्ट्रोल र अन्य रक्त लिपिडको स्तर सुधार गर्न र तौल नियन्त्रणमा सहयोग पुर्‍याउँछ । पिटी, योगा, नियमित शारीरिक काम र खेलकुदले नियमित शारीरिक गतिविधिमा योगदान पुर्याउँछन् ।

४. सूर्तिजन्य पदार्थको प्रयोग नगर्ने

सुर्तीजन्य पदार्थको प्रयोग र धुम्रपानको सम्पर्क तपाईको मुटुको लागि हानिकारक हुन्छ। सुर्तीजन्य पदार्थको प्रयोग छोड्नु भनेको तपाईंले आफ्नो मुटुलाई दिन सक्ने स्वास्थ्यको सबैभन्दा ठूलो उपहार हो । सूर्तिजन्य पदार्थबाट टाढा रहनुका तत्काल र दीर्घकालीन स्वास्थ्य लाभहरू छन्। धुम्रपान छोडेको एक वर्षपछि मुटु रोगको जोखिम धुम्रपान गर्ने व्यक्तिको तुलनामा आधा हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

यदी धुम्रपान छोडेको १५ वर्ष भएको छ भने तपाईंलाई मुटु रोगको जोखिम धुम्रपान नगर्ने व्यक्तिलाई जत्तिकै कम हुने बताइन्छ ।

५. रक्सी तथा अन्य मादक पदार्थको सेवन नगर्ने

रक्सी सेवन गर्नाले मुटु सहित अन्य २०० भन्दा बढी स्वास्थ्य जटिलताको अवस्था निम्तिन सक्ने विश्व स्वास्थ्य संगठनको ठम्याइ छ । रक्सी पिउनु कुनै  तरिकाबाट पनि फाइदाजन छैन । त्यसैले तपाईंको हृदयलाई सुरक्षित राख्न रक्सी पिउनबाट पूर्णतया टाढा रहनु राम्रो हुन्छ ।

६. नियमित ब्लड प्रेसर र सुगर चेक गर्ने

स्वस्थ मुटु कायम राख्ने एउटा महत्त्वपूर्ण तरिका भनेको नियमित ब्लड प्रेसर र सुगर चेक गर्ने हो । विज्ञमार्फत नियमित ब्लड प्रेसर र सुगर चेक गर्दा स्वास्थ्यमा आउनसक्ने जोखिमको मुल्यांकन गर्न सजिलो हुने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

प्रत्येक महिनामा नै ब्लड प्रेसर र सुगर चेक गर्दा मुटु लगायत समग्र स्वास्थ्यका लागि फाइदाजनक हुने विश्व स्वास्थ्य संगठनको ठम्याइ छ ।

विश्व स्वास्थ्य संगठन


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?