२९ पुष २०८१, सोमबार

कृष्ण महराका छोरा भन्छन् – सुन तस्करसँग कनेक्सन भएको आरोप भ्रमपूर्ण छ


२९ श्रावण, काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करसँग आफूहरुको कनेक्सन छ भन्नु भ्रमपूर्ण रहेको बताएका छन् ।

केही दिनयता केही सन्चारमाध्यमहरुले महराका बाबुछोराको सुन तस्करसँग कनेक्सन छ भनेर लगातार समाचार संप्रेषण गरेकोमा गम्भीर आपत्ति जनाउदै ती सबै समाचार तथ्यहीन भएको उनको भनाइ छ ।

चिनजान भएको मानिससँग फोन सम्पर्क भएको बिषयलाई अतिरन्जित गर्दै राजनीतिक पूर्वाग्रह राखेर व्यक्तिको अस्तित्व तथा राजनीतिक जीवन सिध्याउन खोज्नु महाअपराध भएको उनको तर्क छ ।

कोही चिनजान भएको व्यक्तिसँग टेलिफोन सम्पर्क हुनुलाई उसले गरेका गलत कार्यमा संलग्न हुनुसँग जोडेर उही बिषयलाई शीर्षक परिवर्तन गरेर दिनहुँ सम्प्रेषण गर्नु अत्यन्तै आपत्तिजनक भएको महराको गुनासो छ ।

सुन तस्करको कनेक्सन भएको भन्ने समाचार आएपछि राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई प्रभाव पार्ने गरेर सन्चारमाध्यम आफै न्यायालय बन्न खोजेकोप्रति तीब्र असन्तुष्टि व्यक्त गर्दै महराले राज्यले गरिरहेको अनुसन्धानलाई आफूहरुले सहयोग गर्ने बताएका छन् ।

उनले लेखेको फेसबुक स्टाटस यस्तो छ :
हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्रहत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भ्रत्सना गर्दछौं ।

सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्ती पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यमबाट एकहोरो आक्रमण हुनुको पछाडिको रहस्य हामीले बुझ्न सकेका छैनौ ।

हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो ।

राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्णरुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार