१७ श्रावण, एजेन्सी । स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।
स्विडेनको जितमा रेबिका ब्लोमक्विस्टले ६६औं र एलिन रुबेनसनले ९०ओं मिनेटमा गोल गरिन् । जितसँगै तीन खेलबाट नौ अङ्क बनाएको स्विडेन समूह विजेता बन्यो । समान खेलबाट एक अङ्क बनाएको अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ ।
यस्तै अर्को खेलमा दक्षिण अफ्रिकालाई जिताउन हिल्दाह मागाए र थेम्वी केगाटालनाले एक एक गोल गरे । दक्षिण अफ्रिकादे अर्को गोल इटालीबाट आत्मघाती उपहार पाएको थियो ।
इटालीका लागि दुवै गोल एरिएना करुसोले गरिन् । जितसँगै चार अङ्क बनाएको दक्षिण अफ्रिका समूह उपविजेता बन्यो । पराजित इटाली तीन अङ्क जोड्दै विश्वकपबाट बाहिरियो ।
प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार