८ पुष २०८१, सोमबार

काहुँडाँडा चिनाउन महोत्सव


पोखराको उत्तरपूर्वस्थित काहुँडाँडा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यका रूपमा विकास हुँदैछ । कुनै समय प्रचार–प्रसार अभावले गुमनामजस्तै बनेको यो डाँडा सडकको विस्तारले पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ बनाइएको काहुँ धराहराबाट पोखरा उपत्यका अलवोलक गर्न सकिने भएकाले पनि डाँडा उक्लनेहरू बढिरहेका छन् । काहँु डाँडाको अझ प्रचार–प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको छ । पर्यटन प्रवद्र्धन गर्न अगामी फागुन ४ देखि फागुन १४ गतेसम्म काहुँ धरहरा महोत्सव हुने भएको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक संयोजक देवबहादुर गुरुङले जानकारी दिनुभयो । काहुँको पर्यटन क्षेत्रको विकास गर्दै दृश्यावलोकनको गन्तव्यका रूपमा विकास गर्न सकिने जनकल्याण क्लबका अध्यक्षसमेत रहनुभएका गुरुङले बताउनुभयो ।

महोत्सवको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार–प्रसार भएमा काहुँ क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको धारणा छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सवको अवलोकन साथै राष्ट्रिय फूल लालीगुँरासलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ । महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्र्सट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ । पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । करिब दुई हजार दुई सय घरधुरी र १५ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात् ब्राम्हण, क्षेत्री, गुरुङ, मगर र दलितहरूको बसोबास छ ।

पोखरा सहरबाट नजिकै रहेको लालीगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रको विकास र प्रचार–प्रसारका लागि विसं २०६२ र २०७५ मा काँहु धरहरा महोत्सव आयोजना गरिएको थियो । सकियो नाटक महोत्सव पोखरा थिएटरको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सकिएको छ । यही माघ १४ गते सुरु भएको महोत्सव शनिबार अतिथि नाटकका रूपमा धुमधामको घुमघाम मञ्चनसहित समापन भएको हो । महोत्सवमा प्रदर्शन गरिएको नाटकले विद्यार्थी, शिक्षकसहित आम नाटकप्रेमीको ध्यान तान्न सफल भएको आयोजक पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताउनुभयो । शनिबारसम्म पाँच हजार दर्शकले पोखरा थिएटरको गन्धर्व नाटकघरमा पुगेर नाटक हेरेको अध्यक्ष परिवर्तनले बताउनुभयो । “महोत्सव सकिँदासम्म झण्डै पाँच हजार दर्शकले महोत्सवमा नाटक हेर्नुभयो हामीले अपेक्षा गरेभन्दा बढी सफलता पाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

नाटक हेर्न आउने दर्शकले दिएको प्रतिक्रिया आगामी दिनमा नाटक गर्नका लागि उत्साह थपेको संस्थापक अध्यक्ष दिलप्रसाद गुरुङले बताउनुभयो । “नाटक महोत्सव एकदम राम्रो भइरहेको छ । सकारात्मक प्रतिक्रिया पाएका छौँ । हामीमा उत्साह थपिएको छ”, संस्थापक अध्यक्ष गुरुङले भन्नुभयो । महोत्सवमा गण्डकी प्रदेशभरका विद्यालयबाट २० वटा नाटक प्रस्तुत भएका थिए । अन्तिम दिन अतिथि नाटकका रुपमा धुमधामको घुमघाम मञ्चन भएको हो । नाटक मञ्चन गरेका प्रत्येक विद्यालयलाई प्रोत्साहनस्वरुप रु १०–१० हजार प्रदान गरिएको अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहनुभएको थियो । महोत्सवका लागि कुल २९ वटा नाटकको स्क्रिप्ट छनोट समितिसम्म पुगेको थियो ।

तीमध्ये १९ वटा नाटक छनोट गरेर महोत्सवमा मञ्चन गरिएको नाटक छनोट समितिका संयोजक तथा कलाकार प्रकाश घिमिरेले बताउनुभयो । पछिल्ला समय विद्यालयले नाटकको महत्व बुझ्दै गएकोे संयोजक घिमिरेले बताउनुभयो । “पछिल्लो समयमा नाटकमा विद्यालयको निकै चासो बढेको छ । त्यसैले होला यो पटक २९ विद्यालयले स्क्रिप्ट पठाएका थिए”, उहाँले भन्नुभयो, “यो पटक १०–१२ मात्र राख्ने कि भन्ने थियो तर सबै स्क्रिप्ट राम्रा भएकाले २० छनोट गरेर मञ्चन भएका हुन् ।” यसरी नाटकको विद्यालयस्तरमा महत्व बढ्दै गएकाले अबको केही वर्षमा गण्डकी प्रदेश नाट्य क्षेत्रमा अब्बल हुने उहाँको आकलन छ । गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राइट फर चिल्ड्रेनको सहकार्यमा महोत्सव भएको हो । यस अगाडि दुई संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गरिसकेको पोखरा थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सवसमेत आयोजना गरेको थियो ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?