१५ असार, झापा । पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिए ।
हात्तीको आक्रमणबाट गत आव २०७८/७९ मा पाँच जना, आव २०७७/७८ मा तीन, २०७६/७७ मा दुई, आव २०७५/७६ मा एक जना र आव २०७४/७५ मा पाँच जनाको मृत्यु भएको छ ।
झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १६ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भइसकेको छ ।
घर–खेतमै हात्तीको आक्रमण
मृत्यु हुनेमा अधिकांश आफ्नै घर–खेतमा हात्तीले आक्रमणमा परेका हुन् । बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी आफ्नै जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बने । त्यस्तै, बाह्रदशी–१ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्द जाँदै गर्दा हात्तीको आक्रमणमा परे ।
शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ । यस्तै, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराईको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति–५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।
भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हल्दीबारी गाउँपालिका–२ चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा पर्नुभएको थियो । दमक–३ का कमैया राई (गैरनेपाली)लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो भने उहाँको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।
दुई सय १३ जनाले पाए राहत
झापामा चालु आर्थिक वर्षमा दुई सय १३ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएबापत उनीहरुले रु ७१ लाख ६६ हजार सात सय राहत पाएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।
चालु आवमा घाइतेको उपचारका लागि रु चार लाख, मृत्यु राहत रु ५० लाख, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएबापत रु १७ लाख ६६ हजार सात सय राहत रकम उपलब्ध गराइएको उनले बताइन् ।
गत असार १२ गते हात्तीको आक्रमणबाट मृत्यु भएका भद्रपुर-७ का गिरेन कर्मकारको राहत रकम प्रक्रियामा रहेको छ । सरकारले गैरनेपालीको हकमा भने राहत उपलब्ध नगराउने उनले बताइन् ।
प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार