११ असार, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत, कानुनी उल्झनका कारण कतिपय क्षेत्रमा बजेट बिनियोजन गर्न नसकिएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयसम्बन्धी शीर्षकमा अधिकतम कार्यक्रम समेटिए पनि कतिपय कार्यक्रम छुटेकामा आफू दुःखी रहेको बताए ।
“बजेटसँगै खुसी पनि बाँडियो भन्ने लागेको थियो । तर, बजेटसँगसँगै दुःख पनि बाँडिएछ”, उनले भने, “बजेट परेका योजनामा कम बजेट भएको छ भने बजेट नै नपरेका योजनामा त खुसी हुने कुरै भएन । अझ रिसाउनुभएको छ ।”
मन्त्री किरातीले आफूसँग आएका हजारौँ मागमध्ये छानेस सम्बन्धित मन्त्रालयमा पठाएको बताए । “बजेटको सीमाले कतिपय कार्यक्रम छुटेका छन् । स्वाभाविकरुपमा बजेट असन्तुलन हुन गएको छ, त्यसका निम्ति म यो सदनमा क्षमाप्रार्थी छु”, उनले भने ।
पर्यटनमन्त्री किरातीले नेपालमा विकासको ढाँचा सच्याएर सङ्घीयताको मर्म र भावनाअनुसार योजनाको वर्गीकरण र प्राथमिकीकरण गरिनुपर्ने उल्लेख गरे ।
उनले नेपालको संस्कृति र प्रकृतिको संयोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको आजको पर्यटन विकास हुन जरुरी रहेको बताए । संसारले फोटोकपी गर्न नसक्ने, सगरमाथा, पशुपतिनाथ, लुम्बिनीलगायत सम्पदाको संरक्षण विकासमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।
पर्यटनमन्त्रीले भने, “आर्थिक वर्ष २०८०÷८१ का लागि मन्त्रालयमा बजेटको सीमा करिब ४५ प्रतिशतले घटेर आएको छ । यति हुँदा पनि सकेसम्म देशैभरि सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रम समेटिएका छन् । प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासलाई ध्यान दिएर बजेट विनियोजन गरिएको छ ।”
प्रकाशित मिति: ११ असार २०८०, सोमबार