६ असार, सङ्खुवासभा । सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो ।
गए राति वर्षासँगै आएको पहिराले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए । उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ ।
मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ । मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख कोइरालाले बताए । अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए । पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन । सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन् ।
प्रकाशित मिति: ६ असार २०८०, बुधबार