२९ जेठ, काठमाडाैँ । गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । यसअघि जेठ २५ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।
आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको छ ।
वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २८ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।
यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको पेसी जेठ २२ गते पनि न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।
प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार