२२ जेठ, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकलाई तरङ्गित गरेको भन्दै मुलुकको भूमि साटफेरको विषय उठाउनु उचित नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुलुकको भूमि साटफेर गर्ने संवैधानिक व्यवस्था छैन, कुनै ऐन कानुन छैन, यस्तो विषय भ्रमणका बेला उठाउन नै मिल्दैन उनले भने, “मुलुकको भूमि संरक्षण, सार्वभौम तथा राष्ट्रिय अखण्डतामा कसैसँग सम्झौता गर्न सकिदैन ।” देशको सीमा समस्या बंगलादेश मोडलमा समाधान गर्न नसकिने उहाँको भनाइ छ ।
आजको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बंगलादेश मोडलमा समस्या समाधान गर्ने विषय भ्रमणका क्रममा नउठाएको बल्कि नेपालका विज्ञहरुले उठाइरहेको विषय जानकारी गराएको प्रष्ट पारेका थिए । भारत भ्रमणलाई लिएर सांसदहरुले बैठकमा कुरा उठाएपछि प्रधानमन्त्रीले त्यसमा प्रष्ट पारेका थिए ।
प्रधानमन्त्री देशको प्रधानमन्त्री र अभिभावक भएकाले देशप्रति जिम्मेवार बन्नुपर्ने अध्यक्ष ओलीले बताए । “प्रधानमन्त्रीको अपमान हुँदा व्यक्तिको हुँदैन, देशकै अपमान हुन्छ” अध्यक्ष ओलीले थपे, “देशको प्रधानमन्त्री देशप्रति जवाफदेही हुन्छ, मुलुकप्रति जिम्मेवार हुन्छ ।”
नागरिकता विधेयक संसदमा ल्याएर प्रक्रियामार्फत पारित गरेर प्रमाणीकरण गर्नुपर्ने उनले बताए । संसद बैठकलाई बाइपास गरेर नागरिकताजस्तो गम्भीर विधेयकलाई अगाडि बढाउन नहुने उनले बताए । सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेकाले पुनः त्यसलाई संसदमा ल्याएर टुङ्गो लगाउनुपर्ने उनले सुझाव दिए । सो अवसरमा उनले भारत भ्रमणका क्रममा नेपाललाई भएको उपलब्धीलाई सरकारले प्रमाणित गर्नुपर्ने उनले टिप्पणी गरे ।
प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार