२२ पुष २०८१, सोमबार

वातावरण संरक्षणमा सचेतना वृद्धि आवस्यक छ : मन्त्री शर्मा


२२ जेठ, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिएकि छन् ।

विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्नेमा पनि जोड दिएकी हुन् । ‘विश्वब्यापीरुपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती कम वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्त्वपूर्ण पक्ष हो, यसका लागि आम सञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ’– शुभकामना सन्देशमा भनिएको छ– ‘वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानको रूपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आव्हान गर्दछु ।’

यो वर्ष विश्वव्यापी र नेपालमा पनि प्लास्टिकजन्य प्रदूषण निर्मूलको सन्देशसहित वातावरण दिवस मनाइँदै गरेको उल्लेख गर्दै उनले प्लास्टिकजन्य वस्तुको प्रयोग नेपालसहित विश्वब्यापी रुपमा ठुलो समस्याको रूपमा देखिँदै आएको बताएकी छन् । ‘प्लास्टिकजन्य प्रदूषण कम गर्नको लागि यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्ने लगायतका विभिन्न विधिहरू प्रयोग हुँदै आएका छन्’– सन्देशमा भनिएको छ– ‘मुख्य कुरा आम नागरिकले प्लास्टिकजन्य वस्तु प्रयोगको लत कम गर्नुपर्ने आवश्यकता छ । यसका लागि प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी व्यापक जनचेतना जागृत गर्नुपर्ने आवश्यकता छ ।’

नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हककै रूपमा स्थापित गरेको उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेकी छन् । वातावरण संरक्षणका लागि सरकारले विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमबाट चेतनामूलक सामग्री प्रचारप्रसार आदिमा जोड दिँदै आएको स्मरण गराउँदै सबै तहका सरकार, गैरसरकारी तथा निजी क्षेत्र र समुदाय स्तरमा पनि वातावरणसम्बन्धी जनचेतना वृद्धिका कार्यक्रम आवश्यक रहेको बताएकी छन् ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार