२१ जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ ।
रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गु रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराउनुभएको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए ।
गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोग फैलिएको, २८ हजार एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख श्रेष्ठले यो वर्ष बेलैमा सावधानी अपनाउन माग गरेका छन् ।
“यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसद्बाट निर्देशन जारी हुन आवश्यक देखिएको छ”, सङ्कल्प प्रस्तावमा भनिएको छ ।
सङ्कल्प प्रस्तावमा डेङ्गु रोगका विषयमा व्यापक जनचेतना जोगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षकलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।
त्यस्तै वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य सङ्घसंस्थाको साधनस्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार