२१ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक फिर्ता गरी संसद बैठकको प्रक्रियाबाट अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज पार्टीको तर्फबाट धारणा राख्दै प्रमुख सचेतक गिरीले सो कुरा बताएका हुन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार प्रमुख सचेतक गिरीले असंवैधानिक ढंगले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण गरेले त्यसलाई फिर्ता गर्नुपर्ने उनले माग गरे । विधेयक संसदमा दर्ता गरेर एक हप्ताभित्र त्यसलाई टुङ्गो लगाउन सकिने उनले बताए । प्रमुख सचेतक गिरीले भने, ‘निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिज्यूले यसरी प्रमाणिकरण गर्नु गलत छ, यसलाई संसद बैठकमा ल्याउनुपर्छ ।” यसअघि २०५७ सालमा तत्कालीन राजा विरेन्द्रले लालमोहर नलगाएको नागरिकता विधेयक राष्ट्रपतिज्यूले प्रमाणिकरण गरिदिनुभयो भने के होला ? उनले जिज्ञासा गरे ।
प्रमुख सचेतक गिरीले नागरिकता विधेयकलाई संसदबाट एक हप्ता भित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने उनले बताए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार