१० पुष २०८१, बुधबार

रेशमलाई आममाफी र नागरिकता विधेयक प्रमाणीकरणमा देउवाले एक्लै निर्णय गरे : गगन थापा


१९ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेर बहादुर देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाएका छन् ।

उनले यस्ता आरोप लगाउँदै सभापति देउवाविरूद्ध सङ्घर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

प्रेस युनियन नेपालले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू सह्य नभएको बताए ।

उनले भने, ‘केही दिन बीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्त्वको र जनचासोको निर्णयहरू गर्‍याे । पहिलाे निर्णय आममाफीको विषयमा । दाेस्राे निर्णय नागरिकता विधेयकको विषयमा । तेस्राे निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता, सहभागिताका लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा । त्यस्तै अर्काे निर्णय सांसद विकास कोषको सन्दर्भमा । यस्ता कैयन् विषयहरू छन् । यी सबै विषयहरूका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णयहरू हो । आजको दिनसम्म मैले यसलाई सहँदै आएँ । अब म सहन्नँ, मैले आफूलाई बदल्ने हो । ती निर्णयहरूको भारी प्रकारान्तरले पार्टीका तमाम सदस्यहरूले बोक्नुपर्ने स्थिति बनेको छ । यो गर्ने क्रमलाई रोक्ने हो । एकपछि अर्को गलत निर्णय गर्दै गयो भने यो भारीले पार्टी यसरी थिचिन्छ, चाहेर पनि यसलाई कसैले उठाउन सक्दैन । कसैले यसलाई बोक्न सक्दैन ।’

महामन्त्री थापाले विगतमा देउवाका एकल निर्णय मान्नु गल्ती भएको बताउँदै अब त्यस्तो गल्ती गर्ने पक्षमा नभएको पनि बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?