१३ जेठ, काठमाडाैँ । सभामुख देवराज घिमिरेले पशुपतिनाथमा जलहरी लगाउँदा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्तिलाई अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी सांसद लेखनाथ दाहालले ओली सरकारको पालामा पशुपतिनाथमा जलहरीमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
सो आरोपसँगै एमालेले संसद अवरूद्ध गर्दै बैठक बस्न दिएको थिएन ।
उक्त आरोपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भएको र उक्त विषयमा कुनै विवाद नभएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘पशुपति नाथको जलहरीबारे चर्चा उठेको छ। पशुपति क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो। काम गरेको विषयमा कुनै विवाद छैन। त्यसमा अख्तियारमा निवेदन छानविन अनुसन्धान भइरहेको छ । आयोगले स्वतन्त्र छानविन गर्ने नै छ। सहयोग रहनेछ। कोषसँग सम्बन्धी विषयमा प्रमुख नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित होइन।’
प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार