२५ बैशाख २०८३, शुक्रबार

कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना


११ जेष्ठ ,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताएका छन् । चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले कोरलामा चाँडो भन्सार स्थापना गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर निरीक्षणका लागि आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट आउनुभएका अध्यक्ष तिमिल्सिनाले चीनले भन्सार निर्माणको काम सकाएको उल्लेख गर्दै नेपालमा बल्ल जग्गा प्राप्ति भएको बताए । “कोरलामा चीनतर्फ भन्सार निर्माणका लागि उनीहरूले सबै पूर्वाधार बनाइसकेका छन्”, उनले भने, “नेपालमा जग्गा प्राप्तिको काम सकियो, तर अब निर्माण गर्ने कुरामा कमी भएको छ ।”

आफूले अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई कोरलामा नेपालले चाँडै भन्सार कार्यालय निर्माणको काम गर्नुपर्ने जानकारी गराएको उनले बताए । “यो करिडोर राष्ट्रिय गौरवको परियोजना हो”, उनले भने, “यसबाट सामान्य आउजाउ मात्रै नभएर त्रिदेशीय व्यापारको लाभ नेपालले लिन सक्छ ।”

कोरला नाका धार्मिक पर्यटकीय मार्गसँगै व्यापारिक मार्ग पनि भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । उत्तरमा चीनको सिमाना कोरला जोड्ने यस करिडोरले दक्षिणमा नवलपुरको त्रिवेणी भन्सार कार्यालयबाट भारतसँग सीमा जोड्ने काम गरेको छ । अध्यक्ष तिमिल्सिनाले कालिगण्डकी करिडोरको समग्र प्रगति राम्रो भएको भन्दै निर्माण कम्पनीले केही खण्डमा बेवास्ता गर्दा काम केही सुस्त गतिमा भएको बताए ।

“अहिले पछिल्लो समय कामले केही गति लिएको छ, अबको तीन वर्षभित्र यस करिडोरको सम्पूर्ण निर्माणको काम पूरा हुनुपर्छ”, उनले भने, “आयोजनाको काम ढिलो हुँदा लागत पनि बढ्छ, हामीले सेवा पनि ढिलो पाउँछौँ । लागत बढी हुने कुरामा किन लाग्ने, त्यसैले काम छिटो गराउन सबै जना लाग्नुपर्छ ।”

यस करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको कालिगण्डकी करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजनाले जनाएको छ ।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives