११ जेठ, काठमाडाैँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताएका छन् ।
बिहीबार नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले राजनीतिक दलहरुले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको भनाइ व्यक्त गरे । देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने उनको भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले भने, ‘‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ । त्यसको निम्ति हामीले केही गर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तब मात्रै समृद्धि हासिल हुनेछ ।’’
प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार