८ जेठ, इटहरी । एभरेष्ट बैंकबाट बचतकर्ताको डेढ करोड चोरी भएको छ । कर्मचारीहरूकै मिलेमतोमा इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।
३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएको पाइएको छ । उक्त अभियोगमा प्रहरीले शाखा प्रबन्धकसहित ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमध्ये ९ जनामध्ये ७ जना बैंककै कर्मचारी रहेको र अन्य २ जना भने उक्त कार्यमा सहयोग गर्ने व्यक्ति रहेको पाइएको छ ।
पक्राउ पर्नेहरूमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे-८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर- ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल, धनुषाको मिथिला नगरपालिका- ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका- २ का २७ वर्षीय अजय खिउजू पक्राउ रहेका छन् ।
ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर उनीहरूले रकम झिक्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ तथा नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार