२६ पुष २०८१, शुक्रबार

खडेरीका कारण रोकिएन वन डढेलो


१० वैशाख ,काठमाडौँ । खडेरीका कारण यस वर्ष बागलुङका सामुदायिक वनमा आगलागीका घटना बढेका छन् । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना बढ्दै गएको पाइएको छ ।

यस वर्ष चैतको अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म २२ वनमा आगलागी भइसकेको छ । गर्मीयाम सुरु भएपछि हालसम्म चार सय १५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ र तीमध्ये पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ ।

गत माघ १८ गते पहिलोपटक जिल्लाको तमानखोला गाउँपालिकाको खुङ्खानीमा पर्ने हापली छहरा मठूरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वनक्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । माघदेखि सुरु भएको आगलागीको शृङ्खला अझै रोकिएको छैन ।

शनिबार मात्रै तितौरे वनमा आगलागी भएको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अझै आगलागीको तथ्याङ्क थपिनेछ । अहिले पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । सामुदायिक तथा निजी आवादी वनक्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको छ ।

“गर्मीयामका कारण आगलागीका घटना बढेका छन्, अहिले कतिपय वनमा आगलागी भइरहेको छ, वर्षा नहुन्जेल आगलागीका घटना रोकिने अवस्था छैन”, अधिकारीले भने, “आगलागी नियन्त्रणका लागि हामीले जनचेतना फैलाएका छौँ, तर आगलागीका घटना झनै बढेका छन् ।”

डिभिजन वन अधिकृत अधिकारीका अनुसार जानी–जानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ । यो वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिका–६ स्थित सामुदायिक वन र एक राष्ट्रिय वनमा आगलागी भएको हो ।

जैमिनीका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटनका एक/एक वनमा आगलागी भएको छ । गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन ।

एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयवासीले निभाएका थिए । यो वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको अधिकारीले जानकारी दिए ।

डढेलोको सम्भावित जोखिम भएका ठाउँहरूमा सचेतनामूलक कार्यक्रमहरू गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरणहरू उपलब्ध गराउनेलगायतका काम गरिएको अधिकारीको भनाइ छ ।


प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार