२७ पुष २०८१, शनिबार

‘सिजन’मै हेलिकोप्टर दुर्घटनाले निराशमा पर्यटन व्यवसायी


२७ ,असोज ,काठमाडौँ । मनसुन सकिएर पर्यटकीय ‘सिजन’को सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकोप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको छ ।

व्यवसायीहरु असोज-मङ्सिरमा पदयात्रा र आरोहणका लागि पर्यटक बढ्ने भएकाले यसअवधिलाई ‘पिक सिजन’का रुपमा लिन्छन् । “सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले यात्रुको सङ्ख्या पक्कै पनि कम हुन्छ”, सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले भन्नुभयो, “विशेषगरी यस समयमा हेलिकोप्टरको प्रयोग उद्धार उडानका लागि हुन्छ, यो घटनाले व्यवसायमा पक्कै पनि असर पर्छ ।”

उनका अनुसार हेलिकोप्टरको वर्षभरी हुने कूल आम्दानीको ३० प्रतिशत यही सिजनमा हुन्छ । “वैशाख–जेठमा ३० प्रतिशत र यस सिजनमा ३० प्रतिशत बिजनेश हुन्छ”, उनले भने, “बाँकी बिजनेश अफ सिजनमा हुन्छ ।” यस सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकले हेलिकोप्टर बढी प्रयोग गर्ने उनको भनाइ छ ।

सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले मुलुकको हवाई क्षेत्रमा नकारात्मक असर परेको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलको भनाइ छ । उनले भने, “मुख्य पर्यटकीय सिजन सुरु भएकाले यतिबेला हेलिकोप्टर पाउनै मुस्किल छ । मौसम सफा भएकाले हेलिकोप्टरको ‘मुभमेन्ट’ बढी भइरहेको समयमा भएको हेलिकोप्टर दुर्घटनाले नकारात्मक सन्देश गएको छ ।”

यतिखेर लुक्लाबाट हिमाली क्षेत्रमा जाने यात्रुको मुख्य साधन नै हेलिकोप्टर बनेको छ । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लुलगायत क्षेत्रमा हेलिकोप्टरको प्रयोग भइरहेको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक एवं हेली एभरेष्टका उपाध्यक्ष मिङ्मा शेर्पा पनि सिजनमा हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताउछन् ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा आज बिहान ७ः२४ बजे दुर्घटनामा परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार दुर्घटनामा घाइते हेलिकोप्टर पाइलट प्रकाशकुमार सेढाईँको हाल काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न तथा हिमाली क्षेत्रमा पर्यटक ओसारपसारमा समेत हेलिकोप्टरको प्रयोग बढ्दो छ ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार नेपालमा हाल निजी क्षेत्रका १२ वटा हेलिकोप्टर कम्पनीका ३० वटा हेलिकोप्टर व्यावसायिक उडानमा छन् । पर्यटकीय गतिविधि बढेको तथा पर्वतारोहणका लागि आरोहीको सङ्ख्या बढिरहेकाले हेलिकोप्टरको विजनेस राम्रो हुन्छ ।दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वको सङ्घारमा हेलिकोप्टर दुर्घटनाले एकखालको त्रासदी पैदा भएको व्यवसायीको भनाइ छ ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार