१८ माघ २०८२, आईतवार

खोटेहाङले सञ्चालनमा ल्यायो पाँच शैययाको ‘इन्द्रेणी पोखरी आधारभूत अस्पताल’


१२ ,श्रावण ,खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीमा पाँच शैययाको ‘इन्द्रेणी पोखरी आधारभूत अस्पताल’ सञ्चालनमा ल्याइएको छ । तत्कालका लागि गाउँपालिकाको लगानीमा विशेषज्ञ डाक्टरसहित दशजना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरेर शुक्रबारदेखि औपचारिक रुपमा चौबीसै घण्टा सेवा दिने गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।

इन्द्रेणी पोखरीको स्वास्थ्य चौकी भवनलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल सञ्चालन गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ ले बताए । “गाउँपालिकामा अस्पताल नहुँदा अधिकांश बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता थियो । स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र पठाउँदा आर्थिक तथा प्राविधिक समस्या हुन्थ्यो”, उनले भने, “नागरिकको समस्या समाधान गर्ने उद्देश्यले गाउँपालिकाको लगानीमा पहिलो चरणमा पाँच शैययाको अस्पताल सञ्चालनमा ल्याइएको छ । यसलाई स्तरोन्नति गरेर चाँडै १५ शैययाको बनाउने तयारी गरेका छौँ ।”

दीर्घ रोगीहरुका लागि ल्याब, दुर्घटना तथा जटिल किसिमका रोगीका लागि एक्स–रे, गर्भवतीका लागि बर्थिङ सेन्टर लगायतका सेवा चौबिसै घण्टा दिने गरी सञ्चालनमा ल्याइएको आधारभूत अस्पताल गाउँपालिका प्रमुख मुक्तिले ब्यानर पढेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा उपप्रमुख रुपेश राई, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नौ वटै वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मीहरु, स्थानीय सरोकारवाला व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।

आधारभूत अस्पतालमा विशेषज्ञ डा एक जना, ल्याब असिस्टेन एक, रेडियोग्राफर एक, हेल्थ असिस्टेन एक, अहेव दुई, अनमी दुई जना र कार्यालय सहयोगी दुई गरी १० जना स्वास्थ्यकर्मी तथा कर्मचारी रहेका छन् । तत्कालका लागि नेपाल सरकारले तोकेको सबै प्रकारका औषधि गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने गरी अस्पताल सञ्चालनमा ल्याइएको इन्द्रेणी पोखरीका वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिए ।

इन्द्रेणी पोखरीमा आधारभूत अस्पताल सञ्चालनमा आएपछि खोटेहाङसँगै छिमेकी गाउँपालिका जन्ते ढुङ्गा, बराहपोखरी दिप्रुङ चुइचुम्माका नागरिकले आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा पाउने भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा विशेषज्ञ अस्पताल नहुँदा सावापारीका स्थानीय बासिन्दा सदरमुकाम दिक्तेल, छिमेकी जिल्ला गाईघाट, धरान, विराटनगर र काठमाडौँ जानुपर्ने बाध्यता रहेको थियो ।

यसैबीच, इन्द्रेणी पोखरी आधारभूत अस्पताल उद्घाटनसँगै ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २२ वर्षीय पवन तामाङको शव परीक्षण गरिएको छ । खोटाङ बजारमा मिक्सचर पुर्याएर फर्कने क्रममा खोटाङ बजार–कात्तिके–मेर्ला सडकखण्डको मेर्लामा बिहीबार मध्याह्न १२ बजेर ४५ मिनेट जाँदा ना ६ त २४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेका तामाङको उपचारका लागि गाईघाट लैजानेक्रममा साउनेमा मृत्यु भएको हो ।

स्वास्थ्य उपचारका लागि हिँडाइएका तामाङको बाटैमा मृत्यु भएपछि फर्काएर इन्द्रेणी पोखरी आधारभूत अस्पतालमा शव परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको गाउँपालिका प्रमुख मुक्तिले जानकारी दिए । गाउँपालिकाले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालमा सामान्य उपचारदेखि शव परीक्षणसम्मको सेवा लिन पाउने भएपछि स्थानीय बासिन्दासमेत लाभान्वित हुने भएका छन् ।

इन्द्रेणी पोखरीमा आधारभूत अस्पताल सञ्चालन हुनुअघि दक्षिणी क्षेत्रमा भएका दुर्घटना तथा भव्यतव्यमा परी ज्यान गुमाएका स्थानीय बासिन्दाको शव सदरमुकाम दिक्तेल तथा छिमेकी जिल्ला गाईघाट पुर्याउनुपर्ने अवस्था थियो । शव परीक्षण गर्नका लागि सदरमुकाम दिक्तेल तथा छिमेकी जिल्ला गाईघाट पुर्याउनका लागि चर्को मूल्यमा गाडी रिजर्भ गर्नुपर्ने बाध्यतासमेत हटेको वडाध्यक्ष पथिकले बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार