८ पुष २०८१, सोमबार

धर्म के हाे?


धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथिवीको धर्म गन्ध आउनु, बीउ उम्रिनु ,धारण गर्नु, नुनको धर्म नुनिलो हुनु, अनि हावाको धर्म सुकाउनु भनेजस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुनजान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ ।

मानवीय धर्म भनेका के–के हुन् ?

धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु यी र यस्ता सद्गुणहरू नै धर्म हुन् ।

सनातन धर्म भनेको के हो ?

सनातन धर्म भनेको परापूर्वकालदेखि चलिआएको त्यही मानवीय सद्गुणरूप धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन । त्यसैले यस धर्मका प्रवर्तक कोही व्यक्ति हुँदैनन् । साक्षात् ईश्वर नै यस धर्मका प्रवर्तक हुनुहुन्छ । सनातन धर्म विश्वको सबैभन्दा पुरानो तर वैज्ञानिक धर्म मानिन्छ । विश्वको सबैभन्दा पुरानो ग्रन्थ वेद हो । वेदको अधारमा व्याख्या गरिने भएको हुनाले सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भनिन्छ ।

हिन्दु धर्म र सनातन धर्ममा के फरक छ ?

वैदिक सनातन धर्मलाई नै अचेल हिन्दु धर्म भनिन्छ । वेदमा सिन्धु भनिन्थ्यो भने कालिका पुराण, मेरुतन्त्र, शार्ङ्गधर पद्धति आदि ग्रन्थहरूमा हिन्दुशब्दको प्रयोग छ । सनातन धर्मलाई हिन्दु धर्म भन्नुमा यी ५ कारणहरू प्रमुख छन् :

१. हिंसाबाट दूर टाढा रहने भएको हुनाले हिन्दु भनिएको हो ।
२. हीन आचरण र हीन विचारलाई दोष दिने भएकोले हिन्दु भनिएको हो ।
३. कठोर साधनाबाट शरीरका र मनका दोषलाई हिंसित (नष्ट) गर्ने भएकाले हिन्दु भनिएको हो ।
४. हिमालयदेखि इन्दुसरोवरसम्मको सदाचार पद्धति भएकोले हिन्दु भनिएको हो ।

हिन्दुको लक्षण के हो ?

– ॐ कारलाई मूल मन्त्र मान्ने, सदाचार (राम्रो आचरण) मा रहने, पिता, माता र गुरुजनलाई श्रद्धा गर्ने, वेदशास्त्रको वचन पालन गर्ने, गाई, गङ्गा, तुलसी र देवमूर्तिको पूजा गर्ने, ईश्वरमा आस्था राख्ने व्यक्तिलाई हिन्दु भनिन्छ । हिन्दुधर्ममा जाति वर्ग र समुदायको पक्षपात छैन । यो सबैका लागि समान रूपले सम्मान गर्न सिकाउने धर्म हो ।

धर्म के हो ? के होइन ?

धर्म धारणा हो, देखावटी पन होइन । ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म पहिचान हो, अस्तित्व हो, परिवर्तन गर्न मिल्दैन । धर्म जीवनको आधार हो आडम्बर होइन । अन्धविश्वास होइन ।
विगतको संविधानसभामा छलफल नगरी जनताको चाहनाविपरीत संविधानमा धर्मनिरपेक्ष लेखिएको भए पनि त्यो राष्ट्रप्रेमी विचारशील जनतालाई स्वीकार्य छैन ।

आफ्नो धर्म छोड्न मिल्छ कि मिल्दैन ?

हाम्रा पूर्वजहरूको लामो इतिहास छ । हाम्रा गोत्र ती इतिहासका साक्षी प्रमाण हुन् । हाम्रा चाड पर्व, रीति रिवाज भाषा, कला, साहित्य, संस्कृति हाम्रा पहिचानका आधार हुन् ।हामीले धर्म छोड्दा विस्तारै हाम्रा ती सबै पहिचानका आधारहरू छुट्दै जान्छन् । अनि हामी पनि समाप्त हुन्छौँ । त्यसैले हामी कसैले पनि आफ्नो धर्म छोड्नुहुँदैन । धर्म आमासमान हो । आफूलाई जन्म दिने जस्तो भए पनि आमा नै हुन् । फेर्न सकिँदैन । त्यस्तै धर्म जीवनको आधार हो परिवर्तन गर्न मिल्दैन ।

धर्म छाडे के हुन्छ ?

धर्म आफ्नो पहिचान हो, अस्तित्व पनि हो । त्यसैले धर्म छोड्न हुँदैन । आफ्ना पुर्खाले मानिआएको धर्म छोड्दा अफ्नो पहिचान हराउँछ । अस्तित्व हराउँछ । धर्म हराउँदा संस्कृति हराउँछ, संस्कृति हराउँदा हाम्रोपन हराउँछ । हाम्रोपन हराउँदै जाने हो भने एकदिन हाम्रो देश पनि हराउँछ । किनभने धर्म र संस्कृतिविनाको देश प्राणविनाको शरीरजस्तै हो । प्राण नभएको शरीरलाई मूर्दा भनिन्छ । त्यो धेरै दिन टिक्दैन । त्यस्तै धर्म र संस्कृतिविनाको देश धेरै दिन टिक्दैन ।

हिन्दुधर्म कहाँबाट आएको धर्म हो ?

हिन्दुधर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म हो । यहाँका मानिसहरू परापूर्वकालदेखि हिन्दुधर्म मान्छन् । हिन्दुधर्मको मूल आधार वेद हो । वेदको विस्तार यहीँका वेदव्यासले गरेका हुन् । हिन्दुहरूको मूल ग्रन्थ गीता, महाभारत र पुराण लेख्ने व्यास नेपालकै धर्तीका सत्पुत्र हुन् । रामायण लेख्ने वाल्मीकि यतै बस्थे । हरेक हिन्दुको घरमा पुजिने शालिग्राम गण्डकी नदीमा पाइन्छन् । विश्वमा जहाँ बसे पनि हरेक हिन्दुले नेपालको पशुपतिलाई आराध्यदेव मान्छन् । मुक्तिनाथ, देवघाट नगई नहुने तीर्थ ठान्छन् । हिन्दुधर्ममा नेपाल धर्तीको सम्मान हुने भएकाले हिन्दु धर्म नेपालको मौलिक रैथाने धर्म हो र यो धर्म नेपालको पहिचान पनि हो ।

यहाँका रैथाने धर्म अरु पनि छन् कि ?

छन्, बौद्ध धर्म, किराँत धर्म, प्रकृतिपूजा गर्ने यहाँका बासिन्दाका आफ्ना परम्परागत धर्म यहाँका रैथाने धर्म हुन् । यी सबैलाई ॐकार परिवारभित्र समेट्न सकिन्छ । यी सबैलाई समेट्न सनातन हिन्दुधर्म भन्नुपर्छ । यिनको गरिमाले देशको गरिमा जोगिन्छ । यिनको इज्जतले देशको इज्जत जोगिन्छ । त्यसैले नेपालका सबै जाति वर्ग र समुदायका मानिसले आआफ्नै परम्पराको आफ्ना पुर्खाको धर्मको पालन गर्नुपर्छ ।धर्मले समग्र सभ्यताको प्रतिनिधित्व गर्ने भएकोले त्यही सभ्यता मेटाउन हाम्रो देशमा धर्मनिरपेक्षता लादिएको हो ।

नेपाल धर्मनिरपेक्ष हो कि हिन्दुराष्ट्र हो ?

नेपाल परापूर्वकालदेखि हिन्दुराष्ट्र थियो र वास्तवमा मान्यताको रूपमा आज पनि छ र पछि पनि रहन्छ नै । विगतको संविधानसभामा छलफल नगरी जनताको चाहनाविपरीत संविधानमा धर्मनिरपेक्ष लेखिएको भए पनि त्यो राष्ट्रप्रेमी विचारशील जनतालाई स्वीकार्य छैन ।

नेपाललाई धर्मनिरपेक्ष किन भनियो ?

देशलाई अस्थिर बनाउन चाहने र यहाँ आफ्नो प्रभाव बनाइरहन चाहने केही विधर्मीहरूको कुचक्रमा फसेका केही धृतराष्ट्रजस्ता अन्ध र स्वार्थीहरूको लोभलालचका कारणले अहिले देशलाई धर्मनिरपेक्ष भनिएको हो । तर त्यो जो कसैलाई पनि मान्य हुनै सक्दैन ।अन्त्यमा, राज्यको धर्म हुँदैन भन्नेलाई सोध्नुपर्छ, राज्यको अस्तित्व हुनुपर्छ कि पर्दैन ? राज्यको सभ्यता हुन्छ कि हुँदैन ? सभ्यताभित्र संस्कृति हुन्छ कि हुँदैन ?, संस्कृतिभित्र पुर्खाको इतिहास हुन्छ कि हुँदैन ? इतिहासभित्र पहिचान हुन्छ कि हुँदैन ?, पहिचानभित्र धर्म हुन्छ कि हुँदैन ?


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?